सत्र वर्षपछि सातसल्ली


August 23, 2021 12:46 pm

‘पानीले यो बाटो पनि बिगारेको छ  । तपाईंहरुलाई हिँड्न गाह्रो पर्छ ।’


 बर्षाले मोटर बाटोको विजोग बनाएको थियो । दैलेखबजारबाट हिँड्दा नै डुंगेश्वरको छेउमै बाटो भत्किएको खबर पाएका थियौँ । त्यसैले आकाश चुम्न खोजे जसरी उभिएको सातसल्लीको उकालोसँग जुध्नुबाहेक हामीसँग अर्को विकल्प थिएन । किनभने, बाटो कहिले बन्छ र गाडी खुल्छन् भन्ने ठेगान नभएपछि त्यहीँ बसिरहनुभन्दा हिँड्नु नै हामीले उचित सम्झेका थियौँ ।


हामीले डुंगेश्वर बजारमा झोलसहितको चना खायौँ, चिया पियौँ र हातमा पानीका बोतल बोक्यौँ । आफू त जेनतेन उकालो चढिएला तर झोला कसरी लैजाने भन्ने अर्को पीर थियो । त्यसका लागि स्थानीय साथीहरुको मद्दत माग्यौँ र पायौँ पनि ।


मभन्दा धेरै पहिलादेखि यतै बस्दै आएका अधिवक्ता गोविन्द बन्दी, भर्खरै ओ लेभलको जाँच दिएर गाउँ हेर्न गएकी उनकी छोरी र दुर्घटनामा परेर शरीरमा रड राखेर पनि हिँड्ने साहस बोकेका प्रेम थापासहितको हाम्रो टोली डुंगेश्वर आइपुग्दा विहानको आठ बजिसकेको थियो । चार दिनदेखि रोइरहेको आकाशका आँशु बल्लतल्ल थामिएका थिए । चारवटा झोला बोक्न एकजना स्थानीय बासिन्दा खोजेर हामी उकालो लाग्यौं ।
सातसल्लीको उकालो नयाँ थिएन । हाम्रा पाइलाले कैयौँ पटक यसको शीर–पुछार नापेका थिए । तर, सातसल्ली उस्तै भए पनि यसबीचमा हामी धेरै बदलिसकेका थियौं । हिँड्ने नाममा कहिलेकाहीँ ‘मर्निङ वाक’ भन्दै अलिअलि खुट्टा तन्काउनु रहरको कुरा भयो । त्यसबाहेक डेढ दशकको अवधिमा यसरी हिँड्नु खुट्टाका लागि सर्वथा नयाँ काम थियो भन्दा फरक पर्दैन ।


तर यसपटकको ३६ दिनको दैलेख बसाइले हिँड्न सकिँदैन भन्ने कुरालाई पूरै खण्डित गरेको थियो । हुन त गाउँघर पहिला जस्तो छैन । हिजोसम्म पैदलबाहेक विकल्प नभएका गाउँसम्म अहिले मोटरबाटो पुगेको छ । दैलेख जिल्लाका साविकका ५५ गाउँ विकास समितिमध्ये ५४ लाई सडक सञ्जालले समेटेको छ । तर, यसपटक त्यही बाँकी एउटा विशाला गाविसमा पुग्नु थियो । किनभने, एक महिने संविधानसभा निर्वाचन अभियानमा जिम्मा पाएका आठ गाविसमध्ये हाम्रो कार्यक्रम विशालाको बहाँकोटबाट सुरु गर्ने तय भएको थियो ।


विशालाको छिमेकी चामुण्डाबाट पल्लो डाँडामा नजिकै देखिए पनि बहाँकोटसम्म पुग्नका लागि पहिला सीधै ओरालो र अनि सीधै उकालो हिँड्नुपथ्र्यो । विहानै घरबाट हिँड्दा त्यति धेरै उकालो होला जस्तो लागेको थिएन । छिटो–छिटो हिँड्ने राजबहादुर शाही र खड्गराज उपाध्यायसँगै बमबहादुर शाहीको घरमा पुग्दा साँझको सात बजेको थियो । भोलिपल्ट विहान बाँकी उकालो काटेर बहाँकोट पुग्दा अघिल्लो दिनझैँ पसिनाले कम्तीमा चारपटक नुहाउन परेको थियो ।


यसपटकको यात्रा खासमा पैदल यात्रामा रुपान्तरित हुन पुग्यो । हुन त यो कुनै नयाँ कुरा होइन । बर्षौंदेखि राजनीतिमा पाइताला खियाएका नेता–कार्यकर्ताले यसैगरी त्यहाँको भूगोल नापेका छन्, कुन घर कसको हो भन्ने जानकारी उनीहरुलाई त्यसै हासिल भएको होइन । बहाँकोटबाट लकान्द्र र लकान्द्रबाट लयाँटी बिन्द्रासैनी पुग्दाका उकाली–ओरालीहरु नयाँ थिएनन, सँगै हिँडेका राजबहादुर शाही, बमबहादुर शाही र धीरबहादुर शाही जस्ता राजनीतिक कार्यकर्ताका लागि पानी पँधेरा जस्तै थिए ।


डेढ दशकसम्म नहिँड्दाको एकमुष्ट मूल्य यसपटकको दैलेख यात्रामा भुक्तान गर्नुपरेझैं महसुस भएको छ । सियालादेखि दुल्ल्लूसम्म, दुल्लूदेखि घरसम्म, घरदेखि पानी पोखरासम्म– जता हिँड्दा पनि पैदलबाहेक अर्को भरपर्दो विकल्प भेटिएन । पानीले क्षतविक्षत पारेका कारण आफैँ घाइते अवस्थामा रहेको सडकले हामीलाई भरथेग दिने अवस्था नै भएन । ठाउँ–ठाउँमा आहाल बनेका छन्, कतै पहिरो गएको छ, कतै खोलो बनेको छ ।


यस क्षेत्रका लागि नांगा खुट्टाले बाटो नाप्नु नयाँ कुरा होइन । धेरै पहिलाको कुरा होइन, हामीले थाहा पाउँदासम्म पनि त्यहाँका मानिसहरु नुन, लत्ताकपडा लिन २२–२५ दिन लगाएर नेपालगन्ज र राजापुर पुग्दथे । त्यतिबेला मानिसहरुसँग कुनै आयस्रोत थिएन । बर्षायाममा गाईभैंसीको घिउ जम्मा गर्ने अनि हिउँद लागेपछि त्यही घिउ बोकेर तराईतिरको यात्रामा निस्किने बार्षिक कार्यतालिका नै हुन्थ्यो । परिवारलाई लुगाफाटो, नुन, फलाम आदिको जोहो गर्नमै मानिसहरुको एक वर्ष बित्थ्यो । हामीले भन्दा धेरै लामो बाटो जुम्ला, कालिकोटतिरका मानिसहरुले छिचोल्नुपथ्र्यो । अहिले जस्तो लाग्छ, भेडाका बथान ल्याएर उनीहरु नुन लिन सुर्खेततिर झर्थे । हाम्रा वरपर बास बस्दा भेडाको मलका लागि हानथाप हुन्थ्यो । हामी केटाकेटीलाई यी कुराको मतलब थिएन । ओझेल परेको ठाउँमा लुक्ने र अगाडिको भेडालाई तर्साएर सबै बथान नै तितरबितर बनाउने उपद्रयाहा काम गर्नुमै आनन्द आउँथ्यो ।

आज जमाना फेरिएको छ । सायद ती भेडीगोठालाले पनि आफ्नो पेसा परिवर्तन गरे होलान् । कर्णाली राजमार्ग खुलेपछि हाम्रोतिरको बाटो पूरै सुनसान छ । ओहोरदोहोर गर्ने यात्रुले बस्ने ठाउँ नपाइने त्यस बाटोमा अहिले एक–दुई जना मानिस भेटाउन पनि मुश्किल छ । कर्णाली राजमार्ग दैलेखलाई दायाँ पारेर पल्लो छेउबाट गए पनि यस ठाउँका लागि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा सुरु भएको क्षेत्रीय सडकलाई छिट्टै कालिकोट पु¥याउन सकियो भने पुनर्जीवन प्राप्त गर्ला भन्ने आशा बढेको छ ।


डुंगेश्वर बजारमा झोला बोक्नका लागि ढुंगाना थरका मानिसलाई नभेट्दैदेखि मेरो मानसपटलमा श्यामलको कथा ‘सैद्धान्तिक’ नाचिरहेको थियो । यताको यात्रा गर्दा गन्मका हरिहर अधिकारीले श्यामल नहुँदै भोगेको यो कथा आफ्नै लागि साक्षात् भए जस्तो लाग्छ । करिब दुई दशकअघि उनले लेखेको उक्त कथामा डुंगेश्वरदेखि यही सातसल्लीको कठिन उकालो काट्दाको कठोर वर्णन छ । गाउँलेलाई भारी बोकाएर हिँड्ने भूमिसुधारको हाकिमलाई अघि सारेर श्यामलले सुविधाभोगीहरुमा रहेको अवसरवादी चरित्र र त्यहाँका माानिसले भोग्नुपरेका पीडालाई मिहीन रुपमा कथामा उतारेका छन् । शील्प, सिर्जन–क्षमता र सौन्दर्य चेतनाका यी बेजोड लेखकले सायद आफ्नै अनुभूतिलाई कथामा उतारेका छन् । ढुंगानाजीलाई झोला बोकाएर उकालो चढ्दा मलाई जति पटक पढ्दा पनि धीत नमर्ने त्यही कथाको पात्र भूसु हाकिमकै ठाउँमा आफू भए जस्तो लागिरह्यो । गोविन्द बन्दीलाई कथाको सार बताएपछि उनी पनि नहाँसिरहन सकेनन् ।


एक महिना गाउँ हिँडेर आएको थकान छँदै थियो । कम्तीमा चार घन्टाको उकालोमा उक्लिने मानिसहरु पनि फाट्टफुट्ट नभेटिएका होइनन् । तिनीहरुको हालत पनि हाम्रै जस्तो थियो । किनभने, सडक मार्गमा जोडिएपछि डेढ दशकको अवधिमा तिनीहरुले पनि यो कहालीलाग्दो बाटो बिर्सिसकेका थिए होला । तर, बाटो बन्द भएपछि सुर्खेततिरबाट फर्किने मानिसहरुको भने बाटोभरि ताँती नै भेट्दा पहिला जस्तै रौनक महसुस भइरहेको थियो । पानी ट्यांकीनेर अहिले सुनसान भइसकेको पसलमा बसिरहेकी बुढी आमालाई मानिसहरुको त्यो लर्को देख्दा पहिलाकै सम्झना भएछ । हामी पानी पिउन सुस्ताउँदा उनले पहिलाका दिन सम्झिन्– ‘आज त पहिला जस्तै मानिसहरुको आउ–जाउ छ बाबु । पहिला–पहिला त मानिसहरुलाई बास दिनै सकिँदैनथ्यो । खाना पकाएर खानेको उस्तै भीड हुन्थ्यो । हिजोआज त हामीले मान्छे नै नचलेर पसल बन्द गरिसक्यौँ । अहिले बाख्रा पालेर पेट पालिरहेका छौं ।’ बाटोले बाटो बदलेपछि यहाँका मानिसहरुले पनि आफ्नो जीविकाको बाटो बदलेका छन् ।


सायद डा. तारानाथ शर्मा बैतडीभन्दा पहिला दैलेख पुगेको भए ‘घनघश्याको उकालो काट्दा’को ठाउँमा ‘सातसल्लीको उकालो काट्दा’ निबन्ध लेख्ने थिए । त्यति विरक्त लाग्दो उकालोको बीचमा अञ्चलाधीश ऋतुवर्ण तुम्बाहाम्फेले उद्घाटन गरेको एउटा धारा छ  । पञ्चायतकालमा रापंस गगनबहादुर शाहीले यही धारा बनाएका कारण बटुवाबाट निकै आशीर्वाद पाए र उनलाई चुनाव जिताउन त्यति एउटा सानो कामले पनि ठूलो भूमिका खेल्यो भनिन्छ । ०४४ सालमा रापंस भएकै बेला उनको मृत्यु भएपछि उपचुनावमा उठेका उनका छोरा दानबहादुर शाहीले भने चुनाव जित्न सकेनन् । पछि रारा तालमा प्रेक्षा शाहसँगै उनको रहस्यमय मृत्यु भयो । साथै, ‘माइला राजा’का रुपमा चिनिने अर्का रापंस केशबबहादुर शाहलाई आज पनि मानिसहरु उनको उदात्त सहयोगी भावना, विकासप्रेमी छवि र सरलताका लागि सम्झिरहन्छन् । बाटोमा हाम्राबीच पहिलादेखि अहिलेसम्मका राजनीतिकर्मीहरुका बारेमा चर्चा हुँदा यी पात्रहरुका बारेमा करिब–करिब यस्तै निष्कर्ष निस्कियो ।


उकालो काटेर तालपोखरीको तेर्सो बाटोमा पुग्दा एउटा ठूलै युद्ध जिते जस्तो महसुस भइरहेको थियो । तर, अचम्म काठमाडौँमा जन्मेर, अंग्रेजीमा कुराकानी गर्ने र शरीर पनि मोटो नै भए पनि बन्दीजीकी छोरीलाई उकालोभरी हामीले पछ्याउनुप¥यो । ०४७ सालमा संगठनको काममा यतै आउँदा आमासँग प्रेम सुरु भएको प्रसंग सुनाउँदा बन्दीजीकी छोरीले आश्चर्यजनक भावमा सोधिहालिन्– ‘ड्याडी, यस्तो अप्ठेरो ठाउँमा पनि रोमान्स ?’ हामी गलल्ल हाँस्यौँ ।


गाइबान्नाबाट मोटरसाइकलमा सुर्खेत आइपुग्दा अपरान्हको तीन बजेको थियो । घरैघरले भरिँदै गएको सुर्खेत उपत्यका सीतापाइला डाँडाबाट हेर्दा कम्ती मनोरम देखिँदैन । यही उपत्यकाबाट आफूलाई चाहिने किताव, कपी, मट्टितेल र लुगा बोकेर उकालो लागेका कम्तीमा तीन–चार पटकका अनुभव मसँग पनि छन् । मानिस स्वभावैले नोस्टाल्जिक हुन्छ र लादेको ओरालो झर्दै गर्दा त्यही विगत स्मरण भइरहेको थियो ।
हिँडेरै भए पनि सुर्खेत आइपुग्दा सन्तोष नै लागेको थियो । साँझ छ बजे श्रीमती मञ्जुलाई काठमाडौं पठाउन हतारिरहेका नमन शाहीले फोन गर्दा पो हिस्स परियो– ‘दाइ, भर्खर सुर्खेत आइपुग्यौँ । बाटो खुल्यो । अब अहिल्यै नेपालगन्ज जाने केही साधन पाइन्छ कि भनेर दौडधुपमा छौं ।’
सम्झना भएसम्म सत्र वर्षअघि ०५३ सालमा नेपालगन्जमा आयोजित विद्यार्थी संगठनको कार्यक्रममा भाग लिनका लागि सबभन्दा पछिल्लो पटक एक्लै मैले सातसल्ली पार गरेको थिएँ । ओरालो झर्दै गरेका मेरै कमिटीका सदस्य टोपेन्द्र बीसीले हप्काएका पनि थिए– ‘एक्लै यस्तो बाटोमा किन हिँडेको ? खुट्टा अल्झेर लडियो भने पनि खबर गर्ने मानिस त चाहिन्छ नि

Thank you !