असहज अवस्था सम्हाल्न फेरि केपी ओली
नेकपा (एमाले) दशौँ राष्ट्रिय महाधिवेशनको संघारमा छ। छ हजारभन्दा बढी वडा र छ सयभन्दा बढी गाउँ/नगरपालिका तहमा अधिवेशन भइसकेका छन् र अबको ध्यान महाधिवेशनका प्रतिनिधि चयनतर्फ केन्द्रित भएको छ। देशभरका पार्टी सदस्यहरुबाट प्रत्यक्ष निर्वाचन वा सहमतिमा चुनिने प्रतिनिधिहरुले मंसिर १०, ११ र १२ मा चितवनबाट आगामी पाँच बर्षका लागि एमालेको नेतृत्व चयन गर्दैछन्। कांग्रेस र माओवादीको प्रायोजनमा अध्यादेशका रुपमा कृत्रिम कानुन ल्याएर एमालेलाई विभाजन गर्न खोजिएको परिस्थितिमा हुन लागेकाले एमाले महाधिवेशन स्वाभाविक रुपमा पहिलेभन्दा बढी एकताबद्ध, संगठित र सुस्पष्ट हुने अपेक्षा छ।
यद्यपि, महाधिवेशन भएकाले नेतृत्वका लागि आकांक्षा राख्ने नेताहरु बीच स्वस्थ वातावरणमा प्रतिस्पर्धा हुनुलाई अन्यथा मान्न सकिन्न। तर, आजका चुनौतीहरु र पार्टीमाथि चौतर्फी रुपमा भइरहेका आक्रमणहरु हेर्दा सर्वसर्मत रुपमा पार्टीलाई अघि लैजानुपर्ने आवश्यकता थप टड्कारो देखिएको छ। आधारभूत तहका कमिटीहरुमा स्वतःस्फूर्त रुपमा देखा परेको सहमतिको भावनाको प्रभाव राष्ट्रिय महाधिवेशनमा पनि अपेक्षित रहनु अन्यथा होइन।
एमालेले विधि निर्माण र नेतृत्व निर्माणलाई अलग–अलग कसीमा राखेर अघि बढ्ने अभ्यास आरम्भ गरेको छ। पहिलो विधान महाधिवेशन २०७८ असोज १५–१७ मा ललितपुरको गोदावरीमा भव्यतापूर्वक सम्पन्न भएको छ। पार्टी जीवनमा नयाँ अभ्यासका रुपमा नीति र विधानका बारेमा अलग्गै छलफल गर्न आयोजित यस महाधिवेशनलाई नेकपा (एमाले) लाई व्यवस्थित गर्दै नयाँ ऊर्जा र उत्साहका साथ पार्टी निर्माण गर्नका लागि महत्वपूर्ण योगदान गरेको छ। महाधिवेशनमा नेतृत्व चयन हुने भएकाले स्वाभाविक रुपमा सुरुदेखि नै नेतृत्व चयन प्रक्रियामा बढी ध्यान जाने र नीति तथा विधानका बारेमा पर्याप्त छलफल नहुने अनुभवका आधारमा यी दुईका लागि फरक अभ्यास सुरु भएको छ। ६ हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागितामा तीन दिनसम्म छलफल गरेर राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनका बारेमा सर्वसम्मत निष्कर्ष निकालेर एमालेले आफूमा सैद्धान्तिक–वैचारिक र संगठनात्मक मतभेदहरु नरहेको यसअघि नै स्पष्ट पारिसकेको छ।
सबैलाई थाहा छ, यतिबेला नेकपा (एमाले) चौतर्फी प्रहारको निशानामा छ। संसद, अदालत, सरकार, राजनीतिक दल र अदृश्य शक्ति केन्द्रहरुले समेत एमालेलाई कोपभाजनमा पार्ने एकीकृत कोसिस गरिरहेका छन्। नेपालको सबभन्दा संगठित, व्यवस्थित, राष्ट्रियताको पहरेदार र लोकतान्त्रिक मान्यताको अगुवा दल भएका कारण यसलाई कमजोर नबनाएसम्म आफ्नो चलखेललाई सफल पार्न सकिन्न भन्ने निष्कर्ष निकालेका शक्तिहरु यतिबेला हौसिएका छन्। र, पार्टीलाई कमजोर बनाउन नेतृत्वमाथि प्रहार गर्नुपर्छ भन्ने मान्यताका आधारमा अध्यक्ष केपी शर्मा आलीमाथि प्रहार केन्द्रित गरेका छन्। उहाँ अहिले प्रधानमन्त्री हुनुहुन्न, प्रतिपक्षी दलको नेता हुनुहुन्छ।
तर, प्रधानमन्त्री, मन्त्री, सत्तारुढ दलका नेता–कार्यकर्ता, उनीहरु निकट बुद्धिजीवी, उनीहरु निकट संचार संस्थादेखि अरु तहमा हेर्दा पनि प्रहारको निशाना ओलीबाहेक अरु देखिँदैन। अर्थात् अरु सबै शक्ति एकातिर केपी ओली र उहाँको नेतृत्वको एमाले अर्कातिर भइरहेको अवस्थामा ओलीबाहेक अरुले आजको अवस्थामा एमालेको नेतृत्व गर्न सम्भव छैन। सहज अवस्था भइदिएको भए र पार्टीमा फुट नआएको भए जसले नेतृत्व गर्दा पनि फरक पर्ने थिएन। तर, आज एमालेको जीवनमा सहज अवस्था छैन। यस्तो अवस्थालाई सम्हाल्न केपी ओलीबाहेक अरुबाट सम्भव छैन। केपी ओलीको नेतृत्वमा एमाले सर्वसम्मत रुपमा अघि बढ्न लाग्दा अरु दलका नेता र आलोचकहरुमा देखा परेको छटपटीले पनि उहाँको औचित्य र आवश्यकतालाई थप पुष्टि गर्दछ।
विभिन्न सञ्चार माध्यमले कुराकानी गर्दा सोध्ने गर्दछन्, ‘केपी ओली नै दोहोरिने? फेरि पनि केपी ओली?’ यसबाट के देखिन्छ भने एउटा यस्तो मनोविज्ञान निर्माण गर्न खोजिएको छ, जसबाट एमाले बलियो होइन, कमजोर बनोस्। ओलीले नेतृत्व गर्दाको एमालेसँग भिड्न सकिँदैन भन्ने बुझाइका आधारमा उहाँ नेतृत्वमा नरहिदिए हुन्थ्यो भन्ने कामन गरे पनि त्यो पूरा हुनेवाला छैन।
केपी ओली एमालेमा दोहोरिने भन्ने प्रश्न गरिरहँदा अरु पार्टीतिर चाहिँ ध्यानै दिइएको देखिँदैन। माओवादीमा पुष्पकमल दाहाल ३२ बर्षदेखि अनवरत नेतृत्वमा हुनुहुन्छ। अधिकांश समय महाधिवेशन नै नगरी र महाधिवेशन गरे पनि आफूलाई आफैँ अध्यक्ष घोषणा गरेर उहाँ निरन्तर नेतृत्वमा रहँदै आउनुभएको छ। आफूलाई सम्भावित चुनौती दिन सक्ने मोहन बैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्दहरुलाई पार्टीभित्र रहनै नदिएर भए पनि उहाँले पार्टीलाई एकल रुपमा चलाइरहनुभएको छ, अध्यक्षबाहेक अरु कुनै पदाधिकारी पनि राख्न मान्नुभएको छैन।
आफूलाई लोकतन्त्रको मसिहा ठान्ने कांग्रेसमा हालत त्यही छ। ८० बर्षको उमेरतिर हिँड्दै गरेका शेरबहादुर देउवा फेरि सभापति कसरी हुने भन्ने उपायको खोजीमा महाविधेशन सारेको सार्यै हुनुहुन्छ र ‘वातावरण बनाउन’ आफ्ना विश्वासपात्रलाई सीमाबाहिरतिर समेत दौडाइरहनुभएको छ।
राजनीतिक र जीवनको उत्तराद्र्धमा एमालेलाई चोइट्याएर अर्को पार्टी बनाएका नेताहरुमा पनि पदीय आकांक्षाबाहेक अर्को कुनै तत्वले काम गरेको छैन। १५ बर्ष नेतृत्व गर्नुभएका माधवकुमार नेपाल र १३ बर्ष नेतृत्व गर्नुभएका झलनाथ खनालबाट अब आएर चमत्कार हुन्छ भन्ने हास्यास्पद तर्क कसैले पत्याउनै कुरै नभए पनि पार्टी प्रमुख हुने लालसामा आफ्नै इतिहासमाथि बञ्चरो प्रहार गर्ने काम भएको छ। मोहनविक्रम सिंह, सीपी मैनाली, नारायणमान विजुक्छे, चित्रबहादुर केसी जस्ता स्वनामधन्य नेताहरुको नेतृत्वमोहका बारेमा त धेरै समय खर्च गरिरहनै परेन।
यस्तो अवस्थामा एक कार्यकाल मात्र नेतृत्वमा रहेका केपी ओली दोहोरिँदा अरु नेताहरुको ‘भविष्य’ खतरामा परेको ‘न्यारेटिभ’ आफैँमा अमिल्दो र पूर्वाग्रही मात्र हुन्छ।
हालै सम्पन्न प्रथम विधान महाधिवेशनले नै प्रस्ट सन्देश दिइसकेको छ– आजका दिनमा नेकपा (एमाले) को पंक्ति अध्यक्ष केपी शर्मा ओलीको बलियो नेतृत्वप्रति दृढ विश्वास राख्दछ। विधान महाधिवेशनमा कार्यकर्ताहरुको मनोविज्ञान, विधानका प्रावधानहरुका बारेमा छलफल हुँदा उनीहरुले अपनाएको सचेतता र अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि व्यक्त गरेका प्रतिक्रियाहरुको विश्लेषण गर्दा उहाँको नेतृत्वमा गोलबन्द भएर मात्रै हामीले आजका चुनौतीहरुको समाधान गर्न सक्छौँ भन्ने स्पष्ट सन्देश बोकेर कार्यकर्ताहरु कार्यक्षेत्रमा फर्किसकेका छन्। आगामी महाधिवेशनमा आउने प्रतिनिधिहरु पनि त्यहीँभित्रबाट भएकाले उनीहरुको मनोविज्ञान के हुन्छ भन्ने पनि अनुमान गर्न सकिन्छ।
नेकपा (एमाले) को आन्तरिक जीवनमा प्रहार गर्दै यसलाई कमजोर बनाउनका लागि विगतमा नेतृत्वमै रहेका नेताहरुलाई उपयोग गर्दै प्रतिक्रियावादी र उग्रवामपन्थीहरुले अनेक षड्यन्त्र गरिरहेको बेला आयोजित महाधिवेशन सहमति र एकताको सन्देश दिनुपर्छ। एउटा जीवन्त पार्टीमा विभिन्न कोणबाट विचारहरु उठ्नु र पार्टीका बैधानिक मञ्चहरुमा ती अभिव्यक्त हुनु अस्वाभाविक हुँदैन। तर, पार्टीमा कृत्रिम संकट खडा गरेर यसलाई कमजोर बनाउन षड्यन्त्र भइरहेको बुझेर नै पार्टी पंक्ति सम्पूर्ण रुपमा एकढिक्का हुनुपर्छ।
नेकपा (एमाले) नामैले माक्र्सवाद–लेनिनवादमा विश्वास गर्दछ। साथै, त्यसको विश्वभर एक मात्र मोडल हुन्छ भन्ने कुरामा विश्वास गर्दैन। जसरी विश्वका विभिन्न भागका कमरेडहरुले आ–आफ्नो देशको विशेषता अनुरुप माक्र्सवाद–लेनिनवादको प्रयोग गर्नुभएको छ÷गर्दै हुनुहुन्छ, त्यसैगरी एमाले पनि माक्र्सवादलाई नेपाली मौलिकता अनुरुप प्रयोग गर्न चाहन्छ भनेर नै हाम्रा अनुभवहरुको आलोकमा जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रतिपादन गर्नुभएको थियो र नेकपा (एमाले) ले जबजलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त मान्दै आएको छ। यस कुरामा प्रथम विधान महाधिवेशनले पुनः जोड दिँदै पार्टीको विधानमै जबजलाई नेपाली माक्र्सवादका रुपमा परिभाषित गरेको छ।
प्रतिस्पर्धा र पहलकदमीबाट भागेर होइन, त्यसको सामना गरेर र जनताको विश्वास जितेर मात्रै कम्युनिस्ट पार्टी बलियो र दीर्घजीवी हुन्छ भन्ने मान्यतालाई व्यवहारमै आत्मसात गर्दै निर्वाचनका माध्यमबाट पाँच पटक सरकारको नेतृत्व गरिसकेको पार्टी भएको हुनाले नेकपा (एमाले) ले जनताको बहुदलीय जनवादलाई अझ बढी उचाइका साथ आत्मसात गरेको छ। यस सच्चाइलाई मनन गर्दै पार्टी पंक्ति निर्देशित हुनुपर्छ।
कुनै पनि राजनीतिक शक्तिको मूल आधार भनेकै संगठन हो। जसरी मेरुदण्डबिना शरीर उभिन सक्दैन, त्यसैगरी संगठनबिना जतिसुकै राम्रो विचारधारा भए पनि कुनै संगठन उभिन सक्दैन। नेपालका सन्दर्भमा मात्र होइन, अन्यत्रका राजनीतिक दलहरुको तुलनामा एमाले सुदृढ, चुस्त र सक्रिय संगठन भएको व्यवस्थित पार्टी मानिन्छ। पार्टी जीवनमा प्रकट भएका अनुभवहरुलाई एक ठाउँमा बसेर मन्थन गर्दै संगठनलाई कसरी थप बलियो बनाउन सकिन्छ भन्नेबारेमा विधान महाधिवेशनले सही निष्कर्षहरु निकालेको छ। तिनका आधारमा निर्देशित र परिचालित हुँदा हामीले पार्टीमा सिर्जना भएको फुटलाई सजिलै परास्त गर्न सक्छौँ।
कांग्रेस र माओवादीको सरकारले नेकपा (एमाले) लाई फुटाउने एक मात्र उद्देश्यका साथ विद्यमान कानुनमा हास्यास्पद र अलोकतान्त्रिक संशोधन गर्दै अध्यादेश ल्याएपछि पार्टीबाट केही मानिसहरुलाई बाहिरिने बाटो प्राप्त भयो र कथित रुपमा पार्टीले विभाजन सामना गर्नुप¥यो। केन्द्रीय कमिटी वा संसदीय दलमा जम्मा २० प्रतिशत सदस्य भएमा पार्टी विभाजन गर्न पाइने यस दलविरोधी अध्यादेशमा उभिएर केही स्वार्थी, अवसरवादी र फुटपरस्त नेताहरु बाहिरिए पनि पार्टी जीवनमा त्यसको असर अत्यन्त न्यून देखिएको छ। जति आधारभूत तहमा गयो, यति त्यो प्रभाव न्यून रहेको छ। वडा र पालिकास्तरसम्मै अधिवेशनहरु गरेर एमालेले विभाजनको यस मनोविज्ञानलाई पराजित गरिसकेको अवस्थामा अबको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्छ।
नेकपा (एमाले) ले नेपालको राजनीतिमा आफूलाई निरन्तर सर्वश्रेष्ठ र अगुवा पार्टीका रुपमा स्थापित गर्दै आएको छ। नीति र नेतृत्वका बारेमा बेग्लाबेग्लै महाधिवेशन आयोजना गरेर नयाँ अभ्यास थालनी गरी यो प्रक्रियामा पनि एमाले उदाहरणीय बनेको छ। साथै, अब राष्ट्रिय महाधिवेशनलाई नयाँ उत्साह र योजनाका साथ एमाले देशभर परिचालित हुन गइरहेको छ। एमाले विभाजन भयो र कमजोर भयो भनेर खुसियाली मनाइरहेकाहरुलाई हाम्रो चुनौती छ– हिम्मत छ भने चुनावको घोषणा गर र हामीसँग छिटो प्रतिस्पर्धामा आऊ!
नेपालखबर: असहज अवस्था सम्हाल्न फेरि केपी ओली