बीपीको कूटनीतिः सन्तुलनको सकस
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १८ महीना १८ दिन (२०१६ जेठ १३–२०१७ पुस १) को छोटो सरकार नेपालका सन्दर्भमा धेरै रूपमा ऐतिहासिक छ। बालिग मताधिकारबाट बनेको सरकारलाई राजा महेन्द्रले सैनिक बलमा अपदस्थ गर्नुका पछाडि राजा र बीपीबीचको व्यक्तित्वको टकराव मात्र होइन, उनको सरकारले अपनाएको विदेश नीति र बीपीको बढ्दो अन्तर्राष्ट्रिय व्यक्तित्वलाई पनि कारक ठान्नेहरूको कमी छैन।
षड्यन्त्रको सिद्धान्तमा यसै हो भन्न नसकिने भएकाले जेसुकै कारणले भनिए पनि राजाको त्यो कदम जनप्रतिनिधि शासन व्यवस्थाका विरुद्धमा चालिएको कुख्यात घटना थियो। आफू अपदस्थ भइसकेपछि बीपीले विभिन्न शक्तिकेन्द्रहरूका बारेमा व्यक्त गरेका धारणाहरूलाई विपक्षी राजनीतिको प्रभाव मान्ने हो भने पनि उनी स्वयम् प्रधानमन्त्री रहेको बेलाका घटनाक्रमहरूलाई व्याख्या र विश्लेषण गर्दा उनको विदेश नीतिको झलक पाइन्छ।
आफ्नो कार्यकालमा बीपी कोइरालाले नेपालको विश्वव्यापी क्षितिजलाई विस्तार गर्न, अन्तर्राष्ट्रिय छवि माथि उठाउन, सहयोगका सम्भावनालाई फराकिलो बनाउन र विश्वको लोकतान्त्रिक मूलप्रवाहमा नेपाललाई समाहित गराउन ठूलो योगदान गरेको देखिन्छ। शाही अहम्, छिमेकीको ढाडस, हीनताबोध र व्यक्तित्वको टकराव जस्ता कारणले राजा महेन्द्रले बीपीको सरकारसहित लोकतन्त्रलाई अपदस्थ गरेसँगै नेपालको त्यो यात्रा अवरुद्ध हुन पुगेको थियो। बीपी कोइरालाको भारतसँगको सम्बन्ध कूटनीतिमा मात्र सीमित नभएको बरु उनको राजनीतिको अभिन्न अंग नै भएकाले त्यसका बारेमा नभई उनको प्रधानमन्त्रीत्वकालको विदेश सम्बन्धका बारेमा मात्र यहाँ चर्चा गरिएको छ।
भारत र चीनबीच सन्तुलन
४५ वर्षको उमेरमा प्रधानमन्त्री भएका बीपी कोइरालाका लागि उत्तरमा चीन र दक्षिणमा भारतबीच सन्तुलन कायम गर्नु कम चुनौती थिएन। फेरि राजनीतिक जीवनको शुरूआत नै भारतबाट भएको र भारतमा अनेक व्यक्तिहरू मित्र रहेकाले बीपी कोइरालालाई भारतसँग खास सम्बन्ध भएको नेताका रूपमा चिनिन्थ्यो। यस्तो बेलामा देशको बागडोर सम्हाल्दा उत्तरी छिमेकीसँगको सम्बन्धलाई कसरी सन्तुलित बनाउने भन्नेबारेमा प्रश्न उठ्नु अस्वाभाविक थिएन।
तर, बीपी कोइरालाले दुवै मुलुकसँग सन्तुलन कायम गर्न निकै कोशिश गरेको देखिन्छ। दुई ठूला मुलुकका बीचमा अवस्थित भएकै कारण नेपालको बाध्यता अनुसार नै दुवै देशसँग मित्रतापूर्ण, पारम्परिक लाभ र समानतामा आधारित सम्बन्ध राख्नुबाहेक अर्को विकल्प छैन। साँढेको जुधाइमा बाच्छाको स्वाभाविक मिचाइ हुने भएकाले हामीले आफूलाई चीन र भारतबीचको टकरावबाट टाढै राखी स्वतन्त्र सम्बन्ध अघि बढाउनुपर्छ भन्ने चेत बीपीमा देखिन्छ।
बीपी कोइरालाले मुलुकको विश्वव्यापी क्षितिजलाई विस्तारसँगै अन्तर्राष्ट्रिय छवि माथि उठाउँदै सहयोगका सम्भावनालाई फराकिलो बनाएर विश्वको लोकतान्त्रिक मूलप्रवाहमा नेपाललाई समाहित गराए। तर, शाही अहम्, छिमेकीको ढाडस, हीनताबोध र व्यक्तित्वको टकराव जस्ता कारणले राजा महेन्द्रले लोकतन्त्रलाई अपदस्थ गरेसँगै नेपालको त्यो यात्रा अवरुद्ध हुनपुग्यो।
व्यक्तिगत सम्बन्ध, सहजता र अपेक्षाका हिसाबले बीपी कोइरालाका लागि भारत र भारतीय नेताहरू निःसन्देह निकट थिए। तर, व्यक्तिगत रूपमा निकट हुनु र प्रधानमन्त्रीका रूपमा व्यवहार हुनु फरक कुरा हुन् भन्ने बुझाइ बीपीमा देखिन्छ। उनले चीनसँग मित्रताको हात दरिलो गरी मिलाउँदा भारतमा उत्तरतिर ढल्केको भन्ने प्रचार नहुने कुरै भएन। आफ्नो भारत भ्रमणका बेला त्यसका बारेमा जनतालाई स्पष्ट पारेको भनेर बीपीले आत्मकथामा विस्तृतमा उल्लेख गरेका छन्।
बीपी प्रधानमन्त्री भएपछि चीनले औपचारिक भ्रमणको निम्ता दिएको र त्यो कुरा थाहा पाएपछि पहिले आफ्नो देश भ्रमण गर्नुपर्छ भनेर भारतीय राजदूतले दौडधूप गरेको कुराले त्यतिबेलादेखिको भारतीय मानसिकता बुझाउँछ। भारतीय संवेदनशीलता बुझेरै होला, बीपीले चीन भ्रमण तय भइसकेपछि पनि त्यसअगावै भारत भ्रमण गरेर भारतको चित्त बुझाउने कोशिश गरे।
बीपीलाई भारत, भारतीय संस्कृति र मानसिकताका बारेमा राम्ररी जानकारी थियो। त्यही भएर पनि होला, उनले भारतलाई विश्वासमा लिने अधिकतम कोशिश गरेका थिए। साथै, माओत्सेतुङको नेतृत्वमा स्थापित चिनियाँ कम्युनिष्ट पार्टीको शासन रहेको चीनबाट पनि नेपालले अधिकतम लाभ लिनुपर्छ भन्नेमा बीपीमा कुनै द्विविधा देखिन्न। सगरमाथालगायतका नेपाल र चीनबीचको सीमा समस्याका बारेमा राति ११ बजे माओसँग खुलस्त रूपमा भएका कुराकानी नै दुई देशबीचको निरन्तर असल सम्बन्धका आधारका रूपमा रहेका छन्।
चीनले प्रकाशित गरेको ‘माओत्सेतुङ अन डिप्लोमेसी’ पुस्तकमा संग्रहित दुई नेताबीचको वार्तालापको अभिलेख हेर्दा बीपीले दृढता र स्पष्टताका साथ आफ्नो राष्ट्रिय हित, आवश्यकता र दुई देशबीचको सम्बन्धका बारेमा कुरा राखेको पाइन्छ। त्यसलाई माओले पनि साना राष्ट्रहरूको संवेदनशीलताका रूपमा ख्याल गर्दै उदारतापूर्वक लिएका कारण नै प्रधानमन्त्री तहमा सहमति हुन सम्भव भएको कुरा बीपीले आफ्नो आत्मवृत्तान्तमा विस्तारमा उल्लेख गरेका छन्।
बीपीले भारत र चीनका नेताहरू — माओ र गान्धीका बीचमा अनि जवाहरलाल नेहरू र चाउ एनलाईका बीचमा तुलना गर्दै आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन्, ‘…मलाई असाध्य राम्रो प्रभाव पर्यो माओत्सेतुङको, मलाई धेरै थिच्न नखोज्ने तर एउटा बुज्रुक व्यक्तित्वको जस्तो व्यवहार गर्ने, उसले भनेको मलाई धेरै घत लाग्यो। …मलाई गान्धी ज्यादै महान् व्यक्तित्व लाग्छ…। चु एनलाई जस्तो सभ्य र सुसंस्कृत मान्छे मैले कम्ती देखेको छु। जवाहरलाल नेहरूलाई पनि देखेको छु। मलाई लाग्छ, दुईटै तुलना मैले गर्नुपर्यो भने चु एनलाई ज्यादा परिष्कृत मानिस लाग्छ।’
नेताहरूबीच एकअर्कासँगको बुझाइले पनि कूटनीतिमा अर्थ राख्छ। सम्भवतः बीपीको चीन र भारत नीति उनको यही बुझाइको वरिपरि घुमेको छ। भारतले रु.१४ करोड सहयोग गर्दा आफ्नो आग्रहका वाबजूद चीनले त्योभन्दा अलिकति कम सहयोग गर्छौं भन्नु कुनै संयोग मात्र थिएन, उसको सुविचारित विदेश नीति रहेको कुरा बीपीले पनि मानेका छन्।
विभिन्न घटनाक्रम तथा त्यसबाट विकसित बुझाइमार्फत बीपीले शब्द, व्यवहार र नीति — तीनै पाटोबाट दुई देशबीच सन्तुलन कायम होस् भन्ने चाहेको यी उदाहरणहरूबाट बुझ्न सकिन्छ। आफू चीन जाँदा उत्तरतर्फ ढल्केको भन्ने नयाँदिल्लीमा बन्ने भ्रम र भारत जाँदा दक्षिणतर्फ ढल्केको भनेर बेइजिङमा बन्ने छापलाई बदल्नका लागि बीपीले भरपूर कोशिश गरेका थिए। दुई देशबीच सन्तुलन राखेर चल्न सक्दा नै नेपाललाई फाइदा हुन्छ भन्ने नेपालको भूराजनीतिक बाध्यतालाई बुझ्नु नै नेपालको खास विदेश सम्बन्ध हो। र, यसलाई आजभन्दा सात दशकअघि नै बीपीले बुझेका थिए।
पाकिस्तानसँग द्विपक्षीय सम्बन्ध
सन् १९४७ मा आफू फिर्ता हुँदा अंग्रेजले भारतलाई धर्मका आधारमा विभाजन गरेयता दुई मुलुकबीच निरन्तर शत्रुता रहँदै आएको सन्दर्भमा नेपालले पाकिस्तानसँग द्विपक्षीय सम्बन्ध स्थापना गर्न सकेको थिएन। टंकप्रसाद आचार्यदेखि राजा महेन्द्रको प्रत्यक्ष नियन्त्रण भएको बेला पनि पाकिस्तानसँग मित्रताको हात बढाउन रुचि नदेखाइरहेको बेला बीपी कोइराला नेतृत्वमा आएपछि त्यो काम भएको थियो।
जबकि, भारतीय स्वतन्त्रता संग्राममा प्रत्यक्ष सहभागी, जेलनेल भोगेको र भारतीय राष्ट्रिय कांग्रेसका तमाम नेताहरूसँग व्यक्तिगत मित्रतासमेत उच्च भएकाले बीपीका लागि भारत स्वतः निकट थियो। यस्तो बेलामा पनि बीपीले आफ्नो मुलुकको दायरालाई सीमित गर्नुहुन्न भनेर पाकिस्तानसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए। त्यसका लागि पनि उनले कूटनीतिक कुशलता देखाएको कुरा उल्लेखनीय छ। बीपी स्वयम्ले सार्वजनिक गरे अनुसार, पाकिस्तानसँग कूटनीतिक सम्बन्ध स्थापना गर्दा भारतलाई पनि विश्वासमा लिएका थिए।
जीवनको उत्तराद्र्धमा बीपीले भारतका बारेमा व्यक्त गरेका धारणा युगीन महत्वका छन्। नेपालमा भारत के चाहन्छ र हामीले कसरी अघि बढ्नुपर्छ भन्नेबारेमा बीपीको उत्तराद्र्धका धारणा नेपालको विदेश नीतिका महत्वपूर्ण मार्ग–निर्देशनका रूपमा मान्न सकिन्छ।
भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँग यस सम्बन्धमा कुरा गरेर र यति नजिकको पाकिस्तानसँग नेपालले मित्रताको हात नबढाउँदा भारतकै कारणले त्यो हुन सकिरहेको छैन भन्ने सन्देश जाने भएकाले त्यसबाट भारतलाई पनि राम्रो हुन्न भन्ने कुरा सम्झाएर उनले आफ्नो काम फत्ते गरेका थिए। असल कूटनीति भनेकै यही हो।
भारतको पाकिस्तानसँग दुश्मनी भयो, सीमामा विवाद भयो वा कतिपय मुद्दाहरू टुंगिन बाँकी छन् भन्ने आधारमा नेपालले सम्बन्ध स्थापना नगर्ने कुरा कहीं कतै मेल खाँदैनथ्यो। त्यही भएर बीपीले कूटनीतिक कुशलता प्रयोग गरेर नेहरूलाई समेत विश्वासमा लिएर त्यो काम गरेका थिए। नेपालले पाकिस्तानसँग सम्बन्ध राख्नासाथ भारतमा नेपालका विरुद्धमा प्रचार शुरू भएको कुरालाई बीपीले विशादपूर्ण रूपमा सम्झना गरेका छन्। नेपालले अरूसँग अलिकति मित्रताको हात बढाउनासाथ भारतमा टाउको दुखिहाल्ने चलन नयाँ रहेनछ भन्ने यसबाट देखिन्छ।
इजरायललाई मान्यता
इजरायलको स्थापना आफैंमा विवादको विषय छ। आजसम्म पनि कायमै रहेको इजरायल र प्यालेस्टाइनबीचको विवाद ६ दशकअघि कस्तो थियो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ। त्यस्तो बेलामा बीपी कोइरालाले इजरायललाई मान्यता दिंदै दौत्य सम्बन्ध राखेका थिए, जबकि भारतले मान्यता दिएको थिएन। त्यतिबेला विदेश भ्रमणमा रहेका राजा महेन्द्रले टेलिग्राम पठाएर अहिले सम्बन्ध नराख्न भन्दाभन्दै पनि सकेसम्म धेरै देशसँग सम्बन्ध राख्ने नीतिगत निर्णय पहिल्यै भइसकेको जवाफ दिएर बीपीले आफ्नो निर्णय अघि बढाएका थिए। इजरायलसँग कूटनीतिक सम्बन्ध राखेपछि अरब राजदूतहरूले आफूलाई भेटेको र विरोध जनाएको कुरा उल्लेख गर्दै बीपीले उनीहरूलाई यसबाट तिमीहरूसँगको मित्रतामा कुनै फरक पर्दैन भनेर सम्झाएको प्रसंग उल्लेखनीय छ।
यसबाहेक बीपी कोइरालाले संयुक्त राष्ट्रसंघको महासभामा व्यक्त गरेका धारणा, इजरायलमा आयोजित ‘साइन्स एन्ड डेभलपिङ कन्ट्री’ विषयक सेमिनारमा दिएको मन्तव्य, बर्माको भ्रमणका क्रममा भएका कुराकानी आदिले पनि उनको विदेश नीतिलाई प्रष्ट्याउँछन्। अमेरिका भ्रमणका बेला अमेरिकी र रूसी नेताहरूसँग भएका संवादहरू पनि महत्वपूर्ण छन्। प्रजातन्त्रको बढ्दै गएको लहरमा एउटा क्रान्तिकारी र युवा नेता भएकाले होला, बीपीप्रति अन्तर्राष्ट्रिय क्षेत्रमा काफी मात्रामा आकर्षण देखिन्छ। विडम्बना, यसको फाइदा देशले लिन पाएन।
बीपी र भारतको सम्बन्धका बारेमा विभिन्न चरणमा बुझ्नुपर्ने हुन्छ, माथि नै उल्लेख भइसकेको छ– जुन कूटनीतिको दायरामा सीमित हुँदैन। भारतीय राजनीति, संस्कृति र विचारधाराबाट अत्यधिक प्रभावित भएका कारण बीपी कोइराला धेरै हदसम्म भारतप्रति आसक्त देखिन्छन्। यतिसम्म कि नेपालमा भारतीय नेताहरूको जस्तै लुगा लगाउने चलन भित्र्याउने समेत मात्रिकाप्रसाद र बीपी कोइराला भएकाले यसबाट उनीहरूमा रहेको भारतीय प्रभाव बुझ्न सकिन्छ।
भारतसँग मात्रिकाप्रसाद कोइरालाको कार्यकालमा कोशी र बीपी कोइरालाको कार्यकालमा गण्डक सम्झौता हुनुलाई भारतको दीर्घकालीन हितमा बल पुर्याएको घटनाका रूपमा स्मरण गरिन्छ। बीपी स्वयम्ले गण्डक सम्झौताप्रतिको आफ्नो असन्तुष्टिलाई सार्वजनिक गरेर त्यसमा गल्ती भएको जिम्मेवारी लिनुले पनि यसमा कमजोरी भएको निष्कर्ष निकाल्न सजिलो हुन्छ। त्यसबाहेक दैनन्दिनका क्रियाकलापहरूमा पनि भारतलाई जोड्ने चलनबाट बीपी पनि मुक्त छैनन्। भारतीय राजदूतहरूप्रतिको उनको निरन्तरको आलोचनामा कहीं न कहीं आसक्ति लुकेको थिएन भन्न सकिन्न।
सीपीएन सिन्हा, भगवान सहाय र हरिश्वर दयालका बारेमा बीपीका बेलाबेलाका अभिव्यक्तिहरूमा भारतले आफूप्रति पर्याप्त ध्यान दिएन भन्ने असन्तुष्टि देखिन्छ। भारतले दुई भाइबीच विवाद हुँदा ठुल्दाइ (मात्रिका) लाई र राजासँग विवाद हुँदा राजालाई साथ दिएको निष्कर्ष निकालेका कारणले होला, जीवनको उत्तराद्र्धमा बीपीले भारतका बारेमा व्यक्त गरेका धारणाहरू युगीन महत्वका छन्। नेपालमा भारत के चाहन्छ र हामीले कसरी अघि बढ्नुपर्छ भन्नेबारेमा बीपीको उत्तराद्र्धका धारणाहरू नेपालको विदेश नीतिका महत्वपूर्ण मार्ग–निर्देशनका रूपमा मान्न सकिन्छ।
बीपी कोइराला बहुदलीय प्रजातन्त्रलाई केन्द्रविन्दुमा राखेर आफ्नो जीवन र राजनीतिलाई अघि बढाउने नेपालका सबभन्दा अग्ला राजनीतिज्ञ भएको सन्देह छैन। प्रधानमन्त्रीकै हैसियतमा गिरफ्तार भएर सीधै जेल पुग्दादेखि राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किंदा र जीवनको अन्तिम क्षणमा आत्मवृत्तान्त रेकर्ड गराउँदासम्मका बीपी कोइरालालाई अलग अलग अध्यायमा अध्ययन गर्दा निस्किने निष्कर्षहरूको संश्लेषण नै उनको जीवनको पूर्ण अध्ययन हुन्छ। त्यसैले बीपीलाई टुक्रामा होइन, समग्रमा बुझ्नुपर्छ। उनको विदेश नीति त्यसैको एउटा भाग मात्र हो।
हिमालखबर: बीपीको कूटनीतिः सन्तुलनको सकस